सिमसार दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

6 February, 2024

सिमसार दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

सिमसार भन्नाले पानीको मुहान लगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका लागि स्रोत प्रदान गर्छ ।विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको थियो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपंक्षीको संरक्षण गर्नु थियो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै २ हजार ४ सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले सन्धिको पालनाको सिद्धान्त समेतका आधरामा नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ ।

रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको छ । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५ सय ६१ हेक्टर छ । सिमसार संसारको धेरै प्रकारका लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्ने र प्रजनन गर्ने गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने १ सय ७२ लोपोन्मूख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको तथ्याङ्क छ । त्यस्तै २ सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन्

पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरको सहयोग तथा वन निर्देशनालय धरानको समन्वयमा डिभिजन वन कार्यालय मोरङ र शान्ति भुल्के सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा विश्व सिमसार दिवस- २०२४ विविध कार्यक्रम गरी मनार्इएको छ  । “सिमसार-मानव जीवनको आधार” भन्ने मुल नाराका साथ प्रदेशका विभिन्न जिल्लाहरूमा यो कार्यक्रम  सम्पन्न भएको थियो। यस वर्षको सिमसार दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ । सिमसार क्षेत्रहरूको द्रुत गतिमा हुदै आर्इरहेको क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो ।

मोरङको पथरी शनिश्चरे वडा नं. १ अवस्थित शान्ति भुल्के सिमसार क्षेत्रमा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेश सरकारका माननीय पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बाफो, उप प्रमुख श्री देवीमाया काफ्ले र मन्त्रालयका सचिव श्री विशाल घिमिरे ज्यूको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वन निर्देशनालय धरानका प्रमुख, डिभिजन वन कार्यालय झपा , मोरङ र सुनसरीका प्रमुख,विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी एवं उपभोक्ता, सुरक्षा निकाय, सरोकारवाला व्यक्तिहरू, पत्रकार, नागरिक समाज एवं वन संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।कार्यक्रमका सहभागीहरूलार्इ डिभिजन वन कार्यालय मोरङका डि.व.अ. श्री विष्णुलाल घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव विशाल घिमिरेले सिमसारको महत्व र यसबाट वातावरणीय क्षेत्रमा पर्ने फाइदाका विषयमा जोड दिदै सिमसार दिवसले सिमसारहरूको संरक्षणमा चेतना जगाउन, अन्तर निकाय समन्वय गर्न र विभिन्न दातृ निकायहरूको सिमसार संरक्षणमा लगानी अभिवृद्धि गर्ने सरोकारवालाहरूको सहभागीता जुटाउने कुरामा मन्त्रालय सदैव तत्पर रहेको उहाँले बताउनुभयो । चित्रकलाका माध्यमबाट प्रकृतिको महत्व र यसको संरक्षणको आवश्यकता झल्काउन सहयोग पुर्याउने चित्रकारहरूलार्इ धन्यवाद ज्ञापन गर्दै दिवसको उपलक्ष्यमा संचालित क्रियाकलापहरूलार्इ निरन्तरता दिदैँ सिमसार क्षेत्रको सरसफार्इ एवं व्यवस्थापनमा समूहहरूले उचित कदम चाल्नुपर्ने र डिभिजन वन कार्यालय तथा सम्बन्धित उपभोक्ता समूहहरूले जैविक वस्तुको प्रयोग गरी कंक्रिट विकासलार्इ कम गर्न सुझाव समेत दिनुभयो।

यसैगरी विशिष्ट अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सिमसारले पर्यटन प्रवर्धनको साथै जीवनयापनको लागि महत्वपूर्ण योगदान दिएको बताउनुभयो । शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले सिमसार क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा सिमसार सम्वन्धी चित्रकला प्रतियोगिता पनि गरिएको थियो । चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई प्रमाण–पत्र र शिल्ड, मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख  अतिथि एवं कोशी प्रदेशका माननीय मन्त्री गणेश प्रसाद उप्रेतीले मन्त्रालयको तर्फबाट शुभकामना सन्देश दिनुभएको थियो । उहाँले पृथ्वीको सबैभन्दा उर्वरशील पारिस्थितिकीय प्रणालीको रूपमा रहेको सिमसार क्षेत्रको महत्वलार्इ आत्मसाथ गर्दै विशेष गरी जलपंक्षी संरक्षण गर्ने, त्यसलार्इ नोक्सान हुनबाट जोगाउने र दीर्घकालीन रूपमा उपयोग गर्ने उद्देश्यले मनाइने यस दिवसले वन्यजन्तु एवं बसार्इसरी आउने पाहुना जलपंक्षीहरूको बासस्थान संरक्षण लगायत पर्यापर्यटकीय धार्मिक तथा आध्यात्मिक तबरले सिमसारको महत्व बढेको र मिचाहा प्रजातिको प्रकोप , जलवायू परिवर्तनको नकारात्मक प्रभाव, अव्यवस्थित विकास निर्माण , विषादी र रसायनहरूको प्रयोग, अव्यवस्थित फोहोर विसर्जन ,सार्वजनिक विकासका नाममा अतिक्रमण, भू–क्षय आदिले हाम्रा सिमसारहरूको गुणस्तरमा समेत ह्रास भएको कुरा व्यक्त गर्नुभयो । मन्त्रालयले प्राकृतिक सम्पदाको पहिचान, संरक्षण , जैविक विविधताको संरक्षण लगायतका सिमसारजन्य स्रोतहरूको संरक्षण गर्दै आइरहेकाले समुदाय स्तरबाट हातेमालो गरी यसको संरक्षण र दिगो उपयोगमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा धिमाल जातिको साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । सो कार्यक्रमको रचनात्मक साझेदार एभरेष्ट आर्ट फ्युजन पथरी र ललितकला संगम विराटनगरले गरेको थियो । सिमसार क्षेत्रको वरपर क्यान्भासमा चित्रकला प्रस्तुती गर्न स्वदेशी तथा विदेशी चित्रकारहरूको समेत उपस्थिति रहेको थियो । उक्त कोरिएका चित्रलाइ मन्त्रालय, निर्देशनालय तथा डिभिजन वन कार्यालयहरूमा प्रदर्शन गरी राखिने डिभिजन वन कार्यालयले जनाएको छ । कार्यक्रमका अवसरमा वेतना सिमसार, हसिना सिमसार र झापाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागीता रहेको थियो । उपस्थित सबै समूहहरूलार्इ मायाको चिनो प्रदान गर्दै सिमसार संरक्षणमा हातेमालो गर्दै संयुक्त कार्यक्रममा आगामी दिनमा समुहले सहकार्य गर्ने कुरामा जोड दिदै कार्यक्रमका सभापति कुल बहादुर गुरूंङले निमन्त्रणा स्वीकार गरी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा स्थानीय सुनाखरी मा.वि., पंचायत मा.वि. र पेगोडा अंग्रेजी आवसीय मा.वि. का विद्यार्थीहरूले जनचेतनामुलक नारा र ब्यानर प्रदर्शन गरी सिमसारको महत्व झल्किने प्लेकार्ड सहित र्‍याली निकालेका थिए ।

सोही दिन बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ४, ५ मा रहेको अमाह सामुदायिक वन उपभोक्ता समूहले विश्व सिमसार दिवसको अवसरमा सेल्फि पुल उद्घाटन तथा दिवसका बारेमा जनचेतना जगाउने उद्देश्यले सिमसारको महत्वको विषयमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोशी प्रदेश  सरकारका  माननीय पर्यटन वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीज्यूले प्रदेश  सरकारकाको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । कार्य्रकममा कोशी प्रदेश सभाका माननीय ममता योञ्जन, माननीय विजय राइ, माननीय सपना हिङमाङ्ग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, डिभिजन वन कार्यालयका प्रमुख एवं अन्य कर्मचारीहरू, सामूदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू, विभिन्न सरोकारवाला एवं स्थानीय जनप्रतिनिधीहरू सहित सुरक्षा निकाय, संचारकर्मीहरूको सहभागीता रहेको थियो । कार्यक्रमका वक्ताहरूले सिमसारको महत्व तथा यसको संरक्षणका लागि सदैव लागिरहने प्रतिवद्धता सहित समूहले हालसम्म गरेका सिमसार संरक्षणका कार्यहरूको प्रशंसा गर्दे निरन्तर संरक्षणका कार्यमा लागिरहन सुझाव समेत दिएका थिए । कार्यक्रम समूहका अध्यक्ष भोजराज घलेज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।     

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.