प्रदेशस्तरीय होमस्टे सम्मेलन कार्यक्रम २०८०

17 March, 2024

प्रदेशस्तरीय होमस्टे सम्मेलन कार्यक्रम २०८०

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय, धरान र काकरभिट्टा सहयोग तथा समन्वय साथै होमस्टे एशोसियसन, कोशी प्रदेशको प्राविधिक सहयोगमा  मिति २०८० साल फागुन २९ र ३० गतेका दिन त्रियुगा नगरपालिका वडा नं. ८ मा रहेको दनुवार सामुदायिक भवनको सभाहलमा २ दिने प्रथम प्रदेशस्तरीय होमस्टे सम्मेलन २०८० कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका सचिव श्री विशाल घिमिरेज्यूले २ दिने कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो । त्यसै गरी पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री गणेश प्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यता, खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयका माननीय मन्त्री नारायण वहादुर मगरज्यूको विशिष्ट आतिथ्यता, कोशी प्रदेश सभा उप-सभामुख माननीय सृजना दनुवारको विशेष आतिथ्यताका साथ प्रदेश सभा सदस्य माननीय राजन किराँतीज्यू, माननीय गीतादेवी रेग्मीज्यू, माननीय सम्झना तामाङ्ग थाम्सुहाङ्गज्यू को उपस्थितिका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

कोशी प्रदेशमा रहेका पृथक-पृथक समुदायको मौलिक पहिचानयुक्त कला, संस्कृतिलाई प्रवर्द्धन गर्दै ग्रामिण एवम सांस्कृतिक पर्यटन क्षेत्रको दिगो विकास गर्न सहयोगी भूमिका खेल्ने होमस्टे व्यवसायीहरुलाई एकै ठाउँमा वृहत भेला गराई अनुभव आदन-प्रदान गर्दै सबै होमस्टेहरुको सञ्चालनमा एकरुपता ल्याई पर्यटन प्रवर्द्धन तथा प्रचार-प्रसार गर्दै दिगो ग्रामिण पर्यटन विकास गर्ने ध्येकका साथ शुरु भएको होमस्टे सम्मेलन कार्यक्रममा त्रियुगा नगरपालिकाका उप-प्रमुख महेश्वरी राईज्यू, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेज्यू, होमस्टे महासंघका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीहरु, होमस्टे महासंघ प्रदेश कमिटीका अध्यक्ष तथा पदाधिकारीहरु, प्रदेशस्तरीय पर्यटन व्यवसाय संघका प्रमुख तथा प्रतिनिधीहरु, उदयपुर जिल्लास्थित पर्यटन व्यवसायीहरु, कोशी प्रदेशमा रहेका होमस्टे व्यवसायीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु, पत्राकारहरु, अन्य सरोकारवाला निकायका प्रतिनिधहरु साथै यस मन्त्रालय र मातहतका कार्यालयका कर्मचारी गरेर करिव २०० जनाको उपस्थिति रहेको थियो भने करिव ५०० जनाले मौलिक खानपान तथा प्रचारमु खी सामग्री सहितको स्टलहरुको अवलोकन गरेका थिए । 

प्रदेशस्तरीय होमस्टे सम्मेलनको पहिलो दिनको कार्यक्रम पर्यटन प्रवर्द्धन शाखाको कर्मचारी सम्पुर्ण थापाबाट सञ्चालन भएको थियो ।कार्यक्रमको समुद्धघाटन पश्चात पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री श्री गणेश प्रसाद उप्रेतीज्यूबाट "ग्रामीण पर्यटन र होमस्टे" विषयक कि-नोट स्पिच वाचन गर्नुभएको थियो । तत्पश्चात कार्यक्रममा पर्यटन कार्यालय, काकरभिट्टाका कर्मचारी निरज कट्टेलबाट ग्रामीण पर्यटन र होमस्टे विषयक कार्यपत्र प्रस्तुती भएको थियो  ।होमस्टे सम्मेलन कार्यक्रमलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत अतिथिज्यूहरुबाट शुभकामना समेत प्रकट गर्नुभएको थियो ।कार्यक्रम अवधिको विच-विचमा वहेडवा थारु सामुदायिक होमस्टेको तर्फबाट स्थानीय कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती समेत भएको थियो । पहिलो दिनको कार्यक्रमको अन्तमा, "ग्रामीण पर्यटन र होमस्टे" थिममा रहेर प्यानल डिस्कसन मोडलमा आधारित भएर प्यानल कार्यक्रम सञ्चालन गरिएको थियो । प्यानलमा वक्ताको रुपमा माननीय मन्त्री गणेश प्रसाद उप्रेतीज्यू, प्रदेश सचिव विशाल घिमिरेज्यू, नाटा, कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराईज्यू तथा होमस्टे महासंघ, कोशी प्रदेशका अध्यक्ष लिला देवी भट्टराईज्यू गरी ४ जना रहनु भएको थियो । प्यानललाई समाजशास्त्री एवम ग्रामीण विकासका अध्येता शागर सिवाकोटी सरले सहजीकरण गर्नुभएको थियो ।प्यानलमा पर्यटन प्रवर्द्धनमा सरकारबाट गर्नुपर्ने पहलकदमी, होमस्टे र ग्रामीण अर्थतन्त्रको अन्तरसम्बन्ध, सरकार र निजि व्यवसायी विचको सम्बन्ध, सरकार र निजि क्षेत्रले एक-अर्काका लागि खेल्नुपर्ने भूमिका जस्ता विषयमा छलफल गर्नुका साथै सहभागीहरुको तर्फबाट प्रतिनिधीमूलक प्रश्नहरु समेत राखिएको थियो ।उठान भएका प्रश्नहरुलाई माननीय मन्त्रीज्यू एवं सचिवज्यूबाट संवोदन गर्दै पहिलो दिनको कार्यक्रम सकिएको थियो ।

सम्मेलनको दोस्रो दिनको कार्यक्रम पर्यटन प्रवर्द्धन शाखाका कर्मचारी हेमराज अर्यालबाट सञ्चालन भएको थियो ।दोस्रो दिनको शुरुवातमा मौलिक परिकारका विज्ञ केदार शर्माबाट "मौलिक परिकार" विषयक कार्यपत्र प्रस्तुती भएको थियो ।तत्पश्चात सहभागीहरुलाई हिमाल, पहाड, तराई भू-गोल समेटिने गरी समूह विभाजन गरी एक-अर्कामा अनुभव आदन-प्रदान गर्न लगाइएको थियो । समूह छलफलमा होमस्टे व्यवसायको क्षेत्रमा शुरुवाती दिनहरुमा व्यवसायीहरुले भोग्नु परेका अफ्ट्यारा अवस्थाहरु, हाल होमस्टे व्यवसायले आफ्नो दिशा पकडीरहदा सफलताका कथाहरु, होमस्टे व्यवसायलाई थप प्रवर्द्धन गर्न देखा परिरहेको समस्याहरु, सरकारको तर्फबाट गर्नुपर्ने पहलहरु जस्ता विषयमा छलफल गरी प्रत्येक समूहबाट प्रतिनिधीमूलक रुपमा प्रस्तुती समेत भएको थियो । २ दिने सम्मेलनको अन्तमा, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र होमस्टे महासंघ, कोशी प्रदेशको तर्फबाट साझा प्रतिवद्धता-पत्र जारी भएको थियो ।

समग्रमा, होमस्टे व्यवसायको क्षेत्रमा विगत लामो समयदेखी निरन्तर सक्रिय रही होमस्टे र ग्रामीण पर्यटनका क्षेत्रमा अतुलनीय योगदान पुराइरहेका होमस्टे सञ्चालकहरुलाई सम्मान कार्यक्रम गरी पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव एवम २ दिने प्रदेशस्तरीय होमस्टे सम्मेलन कार्यक्रमका अध्यक्ष विशाल घिमिरेज्यू बाट यस सम्मेलन कार्यक्रम सफल बनाउन सहयोगी भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.