पर्यटन व्यवसायी सँग पर्यटन मन्त्री

20 February, 2024

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा सूर्योदय नगरपालिकाको समन्वय तथा सहयोगमा मिति २०८० साल फागुन ६ गतेका दिन सूर्योदय नगरपालिकाको सभाहलमा "पर्यटन व्यवसायी सँग पर्यटन मन्त्री "विषयक कार्यक्रम सूर्योदय नगरपालिकाको नगर-प्रमुख श्री रण वहादुर राईज्यूको अध्यक्षता, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका माननीय मन्त्री गणेश प्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यता ,प्रदेश सभा सदस्य माननीय खिनु लङ्वा लिम्बुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।पूर्वको सुन्दर पर्यटकीय नगरीको रुपमा परिचित सूर्योदय नगरपालिकाको सभाहलमा पर्यटन सम्बन्धी सरकारका नीति एवम कार्यक्रमबारे पर्यटन व्यवसायीलाई सुसूचित गराउन, पर्यटनका अवसर र संभावनाहरुलाई थप पहिचान गर्न तथा स्थानीय पर्यटन व्यवसायीको जन-आवाज र सवालहरुलाई प्रत्यक्ष रुपमा संवोधन गर्दै निजि क्षेत्रबाट प्राप्त सुझावहरुले सरकारलाई आगमी नीति निर्माणमा सहयोग पुग्ने अपेक्षाका साथ  यस कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा इलाम जिल्लाका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु, सुर्योदय नगरपालिकाका जन-प्रतिनिधी तथा कर्मचारीहरु, पत्राकारहरु, यस मन्त्रालयका कर्मचारी गरेर १०५ जनाको उपस्थिति रहेको थियो । 

यस कार्यक्रम साविकमा सञ्चालन गरिदै आएका कार्यक्रम भन्दा केही पृथक ढंगबाट सञ्चालन गरिएको थियो।कार्यक्रम "कोशी प्रदेशमा पर्यटन" थिममा रहेर प्यानल डिस्कसन मोडलमा आधारित भएर सञ्चालन गरिएको थियो । प्यानलमा वक्ताको रुपमा माननीय मन्त्री गणेश प्रसाद उप्रेती, प्रदेश सभा सदस्य खिनु लङवा लिम्बु, सूर्योदय नगरपालिकाका नगर-प्रमुख रण वहादुर राई तथा पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै केदार शर्मा गरी ४ जना रहनु भएको थियो ।प्यानललाई सहजीकरण गर्नका लागि महेन्द्र बहुमुखी क्यामपसका उप-प्राध्यापक एवम समाजशास्त्री विशाल श्रेष्ठले गर्नुभएको थियो । 

मन्त्रालयका कर्मचारी सम्पुर्ण थापाबाट कार्यक्रम सञ्चालन गरी कार्यक्रमका विषयमा केही जानकारी दिदै प्यानल सञ्चालनका लागि फ्लोर सहजकर्ता विशाल श्रेष्ठलाई हस्तानतरण गरिएको थियो ।सहजकर्ताले प्यानलमा रहनुभएका वक्ताहरुलाई पालैपालो कोशी प्रदेशको पर्यटन बारे जन-आवाजद्धारा उठान भएका प्रश्नहरु गर्नुभएको थियो ।प्यानल सञ्चालनको विच-विचमा सहभागीहरुको तर्फबाट पनि प्रश्नहरु लिदै सहभागितामूलक रुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । वक्ताहरुबाट पनि उठान भएका प्रश्नहरुलाई क्रमैसँग सम्वोधन हुने गरी जवाफ दिनुभएको थियो ।फ्लोरमा पर्यटन व्यवसायीहरुबाट थुप्रै सवालहरु उठान भएका थिए । Tourism Destination को वार्षिक क्यालेण्डर बनाएर मात्र पर्यटन कार्यक्रम कार्यान्वयन गरिनुपर्ने, साना तथा मझौला उद्योगहरुलाई पनि पर्यटन व्यवसायका रुपमा दर्ता गर्न कानूनी व्यवस्था मिलाइनुपर्ने, नीति निर्माताहरुले पर्यटनमैत्री नीति निर्माणमा जोड दिनुपर्ने, पुष्प व्यवसायलाई पनि पर्यटनसँग जोडेर अघि बढ्नुपर्ने, श्रीअन्तुलाई होमस्टे जोनका रुपमा विकास गरिनुपर्ने, पशुपतिनगर नाकामा अध्यागमन कार्यालयलाई स्थापना गर्न सरकारबाट विशेष पहल गरिनुपर्ने ,Tea Tourism लाई प्रवर्द्धन गरिनुपर्ने, शैक्षिक पर्यटन, virgin jungle को अवधारणा,  visitor लाई  Tourist बदल्न सरकारबाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने जस्ता यावत विषयवस्तुहरु उठान भएका थिए ।उठान भएका हरेक विषयवस्तुलाई वक्ताहरुबाट क्रमैसँग संवोधन गरिएको थियो ।यसै क्रममा पर्यटन व्यवसायी केदार शर्माले परिकार पर्यटनलाई प्रवर्द्धन गरेर अघि बढ्न सके पर्यटन विकासमा योगदान पुग्ने भनि नया अवधारणा प्रस्तुत गर्नु भएको थियो ।प्रदेश सभा सदस्य माननीय खिनु लङवा लिम्बुले कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि संभावित अवसरको पहिचान गरी नया ढंगबाट पर्यटनको विकासको बाटोमा सहकार्यात्मक रुपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री गणेश प्रसाद उप्रेतीले पर्यटन व्यवसायीका सवालहरुका जवाफ दिदै पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल रुपमा अघि बढिरहने साथै संघीय तथा स्थानीय सरकारसँग पनि सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता प्रकट भएको थियो ।अन्तमा, पर्यटन विकासका लागि स्थानीय पर्यटन विकासका लागि सूर्योदय नगरपालिकाले  Trial base Tourism Trekking का लागि काम गरिरहेको, solid waste management का लागि बजेट प्राप्त भई प्रदेश सरकारसँग नीतिगत व्यवस्थाका लागि समन्वय भइरहेको जानकारी दिदै यो अन्तरकृया कार्यक्रम सूर्योदय नगरपालिकामा आयोजना गरिएकोमा पर्यटन, वन तथा वातावरण मन्त्रालय परिवारलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.