प्रस्तावित प्रदेश वन नियमावलीको मस्यौदामा गरिएको व्यवस्थाका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफल, अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम

28 January, 2024

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा मिति २०८० साल माघ १४ गते आइतबार एयरपोर्ट होटल विराटनगरमा प्रस्तावित प्रदेश वन नियमावलीको मस्यौदामा गरिएको व्यवस्थाका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया तथा पृष्ठपोषण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री गणेश प्रसाद उप्रेतीज्यूको प्रमुख आथित्यता तथा प्रदेश सचिव श्री विशाल घिमिरेज्यूको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा वेलबारी नगरपालिकाका प्रमुख  दिलप्रसाद राई, मिक्लाजुङ्ग गाउँपालिकाका उपाध्यक्ष श्री दिनेस पौडेल, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, प्रदेश योजना आयोगका प्रतिनिधिहरु, वन निर्देशनालय धरान, मोरङ्ग, झापा, सुनसरी, धनकुटा, इलाम, पाँचथर, त्रिवेणी, तेह्रथुम, भोजपुर र ताप्लेजुङ्गका डिभिजनल वन अधिकृतहरु, चुरे उत्थानशील आयोजना सुनसरी र कोशीटप्पु वन्यजन्तु आरक्ष  सुनसरीका प्रमुख, जडीबुटी उत्पादन तथा प्रशोधन, वन विउ प्रयोगशालासँग सम्बन्धित कार्यालयका प्रतिनिधिहरु, पूर्वाञ्चल विश्‍वविद्यालय कलेज अफ इन्भायरोमेन्टका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश, साझेदारी वन उपभोक्ता महासंघ कोशी प्रदेश, वैज्ञानिक वन व्यवस्थापन महासंघ कोशी प्रदेश, याक चौरी कृषक महासंघ कोशी प्रदेश, हिमालय ग्रामीण प्राकृतिक श्रोत व्यवस्थापन महिला समुह (हिमवन्ती) नेपाल, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेश, कबुलियती वन जिल्ला महासंघ कोशी प्रदेश, निजी वन संजाल कोशी प्रदेश, प्लाइउड उत्पादन संघ कोशी प्रदेश लगायत मन्त्रालयका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु गरी जम्मा ९० जनाको सहभागिता रहेको थियो। 

मन्त्रालयका अधिकृतस्तर आठौं तहका कर्मचारी श्री राकेश निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा अधिकृतस्तर आठौं तहका वन अधिकृत श्री सोमेश्‍वर कुमार दासले स्वागत मन्तब्य राख्नु भएको थियो भने मन्त्रालयका कानून अधिकृत श्री रमेश नेपालले प्रस्तावित वन नियमावलीको मस्यौदामा भएको मुख्य मुख्य प्रावधानहरुका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो । प्रस्तुतीकरण पश्‍चात प्रस्तावित वन नियमावलीको मस्यौदामा गरिएका व्यवस्थाका सम्बन्धमा राय सुझाव संकलनका लागि खुल्ला छलफल भएको थियो । खुल्ला छलफलका क्रममा विभिन्न संघसंस्था तथा निकायलाई प्रतिनिधित्व गर्दै २२ जना सहभागीहरुले नियमावलीमा छुट भएका विषयहरु, संशोधन तथा परिमार्जन गर्नुपर्ने विषयहरुका बारेमा सुझाव एवं पृष्ठपोषण प्रदान गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा मिक्लाजुङ्ग गाउँपालिकाका उपाध्यक्ष श्री दिनेस पौडेल र नेपाल नगरपालिका संघ, कोशी प्रदेशका अध्यक्ष तथा वेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले स्थानीय तहसँग समन्वय गरेर मात्र वन सम्बन्धी ऐन नियमको सफल कार्यान्वयन हुने भन्दै सोही बमोजिम हुने गरी नियमावली जारी हुनुपर्ने औल्याउनुभयो । प्रमुख अतिथि माननीय गणेश प्रसाद उप्रेतीले काठ दाउरा संकलन तथा विक्री वितरण, नदीजन्य पदार्थको संकलन तथा ओसारपसार लगायतका विषयमा बोल्दै सर्वमान्य नियमावली जारी गर्नको लागि छलफल कार्यक्रम आयोजना गरिएको भन्दै उपयुक्त सुझावहरुलाई नियमावलीमा समावेश गर्ने आश्वासन व्यक्त गर्नुभयो । अन्त्यमा कार्यक्रमको संयोजकत्व गर्नुभएका प्रदेश सचिव श्री विशाल घिमिरेले छलफल तथा अन्तरक्रिया कार्यक्रममा उठेका विषयबस्तुलाई सम्बोधन गर्दै आवश्‍यकता र औचित्यताका आधारमा प्रस्तावित नियमावलीको मस्यौदाका प्रावधानहरु परिमार्जन गरी चाँडै नियमावली प्रदेश सरकार समक्ष पेश गर्ने वताउँदै कार्यक्रमलाई समापन गर्नु भएको थियो । 

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.